
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज गोलीकाण्डमा मृतकको संख्या दुई पुगेको छ । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।
घाइतेमध्ये देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । विराटनगरको न्युरो अस्पतालमा उपचाररत उनलाई दिउँसो १ः२४ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । गत सोमबार उनको शल्यक्रिया भयो । शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचाररत अवस्थामै उनको मृत्यु भएको डीएसपी मिश्रले बताए । उनका अनुसार शव अस्पतालमै छ ।
जयप्रकाशको ज्यान गएसँगै कप्तानगन्ज गोलीकाण्डमा मृतकको संख्या दुई पुगेको हो । कप्तागन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमै मृत्यु भयो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल पुर्याउनसाथ आइतबार राति १०ः४० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएका थिए । उनको शव अहिलेसम्म अस्पतालमै छ ।
उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना अहिले पनि विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचाररत छन् । उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
हाल न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहता तथा विराटमा देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता, २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहता एवं नोबेलमा देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको उपचार भइरहेको छ । उपचाररतमध्ये विराटका रवीन्द्रकुमार र नोबेलका अमितको अवस्था अझै गम्भीर रहेको अस्पतालले जनाएका छन् ।
गोलीकाण्डपछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनसँगै हिंसा फैलिँदा जिल्लाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका थिए । बुधबारबाट अवस्था केही मत्थर भएको छ ।
जिल्लाको अवस्था अब क्रमशः सामान्य बन्दै गएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । लगातारको आगजनी, तोडफोड र आक्रमणका घटनाले जनजीवन प्रभावित बनेको थियो भने सर्वसाधारण त्रासपूर्ण वातावरणमा बस्न बाध्य भएका थिए । सुनसरीको अवस्था सामान्य बन्दै गए पनि कर्फ्यु भने जारी रहेको डीएसपी खड्काले बताए ।



















