
काठमाडौं। सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको धार्मिक झडप र प्रहरीको बल प्रयोगका विषयमा नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले सरकारको उदासीनता र सुरक्षा निकायको कमजोरीका कारण नागरिकको ज्यान गएको आरोप लगाए।
देवानगन्ज–३ स्थित सात दशक पुरानो शिव मन्दिर र त्यसअगाडिको रामचोकमा मुस्लिम समुदायले मोहरमका क्रममा धार्मिक झण्डा गाडेपछि विवाद सुरु भएको बरालले बताए। उक्त स्थानबाट १० दिनसम्म पनि झण्डा नहटाउँदा स्थानीयस्तरमा धार्मिक अन्तर्विरोध बढेको र प्रहरीलाई जानकारी हुँदाहुँदै पनि समयमै समन्वय नगरेको उनको भनाइ छ।
साउन १० गते आइतबार राति ‘बोलबम’ का तीर्थयात्री र अर्को समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले विवेकपूर्ण उपाय अपनाउनुको साटो सिधै बल प्रयोग गरेको आरोप उनले लगाए। घटनामा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको र जयप्रकाश मेहता, रवीन्द्र महता, अमित महता लगायत १४ जना गम्भीर घाइते भएको सदनलाई जानकारी गराइयो। सुरक्षा निकायका प्रमुखहरू सो समयमा कार्यक्षेत्रमा अनुपस्थित रहेको र उनीहरूलाई गृहमन्त्रीले राजधानी बोलाएको विषयलाई समेत सांसद बरालले अर्थपूर्ण रूपमा उठाए।
सरकारले समस्याको राजनीतिक समाधान खोज्नुको साटो सैन्य बल प्रयोग गरेर दमन गर्ने नीति लिएको आरोप लगाउँदै उनले विगतमा रौतहट र नेपालगञ्जमा भएका यस्तै घटनाहरूबाट पाठ नसिक्दा अहिलेको अवस्था सिर्जना भएको तर्क गरे।
सदनमा बोल्दै सांसद बरालले भने, ‘अँध्यारोको फाइदा उठाउँदै प्रहरी र सशस्त्र प्रहरीले भिड नियन्त्रणका लागि अपनाउनुपर्ने न्यूनतम कार्यविधि समेत पालना नगरी गोली चलाए। घाइतेहरूको प्रकृति हेर्दा सबैलाई घुँडाभन्दा माथि गोली लागेको छ।’ यसले सुरक्षा निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको उनले बताए।

























