कप्तानगन्ज गोलीकाण्डका दुई जना घाइतेलाई काठमाडौं लैजाने तयारी

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन १४, बिहीबार १८:२७

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएएको छ ।

विराटनगरमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई काठमाडौं लैजान लागिएको हो । यादवको बायाँ हात र कोखामा गोली लागेको थियो ।

शल्यक्रिया गरेर गोली निकालिसकिएको छ । अवस्था गम्भीर रहेका उनको नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । अवस्था थप जटिल बन्दै गएपछि काठमाडौं लैजान लागिएको पारिवारिक स्रोतले बतायो ।

चिकित्सकका अनुसार उनले बायाँ हात गुमाउने भएका छन् । यसअघि चै चिकित्सकले बायाँ हात जोगाउन नसकिने जानकारी परिवारलाई दिइसकेका थिए ।

त्यस्तै, विराट नर्सिङ होममा उपचाररत मेहताको बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर चोट पुगेको थियो । नसाको शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको छ । अवस्था गम्भीर बन्दै गएपछि मेहतालाई पनि थप उपचारका लागि काठमाडौं लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौं लगेर दुवै जनालाई थप उपचारका लागि ट्रमा सेन्टर भर्ना गरिने भएको छ । काठमाडौं लैजानलाई स्वास्थ्यमन्त्री निशा मेहताले पहल गरेको बताइएको छ ।

दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भयो ।

देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भएको छ । अन्य आठ जनाको विराटनगरका अस्पतालमा उपचार भइरहेकोमा दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.