देवानगन्जपछि मधेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर किशोरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २१:२७

मधेश । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको विरोधमा बिहीबार मधेश प्रदेशका विभिन्न जिल्लामा हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शन हिंसात्मक बन्दा एक किशोरको मृत्यु भएको छ भने प्रहरीसहित कम्तीमा २२ जना घाइते भएका छन् ।

आन्दोलन उग्र बनेपछि सिरहा र धनुषाका केही क्षेत्रमा कर्फ्यु तथा पर्सामा निषेधाज्ञा जारी गरिएको छ । सबैभन्दा गम्भीर घटना सिरहाको गोलबजारमा भएको हो । प्रशासनले कर्फ्यु लागू गरिसकेपछि पनि गोलबजार नगरपालिका–४ क्याम्पस रोड क्षेत्रमा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिकाको तुलसियाही निवासी रामवृक्ष यादवका अन्दाजी १५ वर्षीय छोरा गणेश यादव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको थियो ।

Advertisement

सोही घटनामा गोली लागेर घाइते भएका धनुषाको धनुषाधामका सुवास ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । त्यसअघि दिउँसो गोलबजारमा प्रदर्शन चर्किँदै जाँदा झमझम होटल अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा नेपाल टेलिकम अगाडि पार्किङमा रहेका करिब २१ वटा मोटरसाइकल र एउटा साइकलमा आगजनी गरिएको थियो ।

आन्दोलनकारीहरूले गोलबजारस्थित एबी मल, नेहाल आइरन स्टोर, नौसाद मोटरसाइकल ग्यारेज, रोयल प्रिन्स होटल एन्ड पार्टी प्यालेस तथा गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरको घरमा समेत आगजनी र तोडफोड गरेका छन् । सिरहा प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार झडप नियन्त्रणका क्रममा डीएसपी रमेशबहादुर पालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरर १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

डीएसपी पालको मुखमा चोट लागेको छ । अन्य सुरक्षाकर्मी तथा स्थानीयको हात, खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम पनि बिहीबार बिहानदेखि तनावग्रस्त रह्यो । विभिन्न संघसंस्थाका युवाहरूले रामानन्दचोकबाट प्रदर्शन सुरु गर्दै सडक अवरुद्ध गरेका थिए । प्रदर्शनकारीहरूले बजार बन्द गराउनुका साथै केही स्थानमा तोडफोडसमेत गरेका थिए ।

रामानन्दचोक, बजरंगचोकलगायतका क्षेत्रमा दिनभर प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको थियो ।

ढुंगामुढाबाट जनकपुरधाम उपमहानगरपालिका–७ का १२ वर्षीय आनन्द दास गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । जनकपुरधाम–२० का भोगेन्द्रकुमार राम पनि टाउकोमा चोट लागेर घाइते भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार धनुषा र सिरहामा भएका झडपका क्रममा १९ जना प्रहरी घाइते भएका छन् । तीमध्ये धनुषामा १५ र सिरहामा चार जना प्रहरी घाइते भएका हुन् ।

परिस्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि धनुषा प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ । प्रजिअ लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिका, नगराइन चोकसम्मको क्षेत्र तथा लक्ष्मीनिया गाउँपालिकाको सोहनी सिनुरजोडा र लक्ष्मीनिया हाटबजारसम्म कर्फ्यु लागू गरिएको छ । कर्फ्यु कार्यान्वयनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

यसैबीच सम्भावित तनावलाई ध्यानमा राख्दै पर्साको वीरगञ्जमा पनि बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले निषेधाज्ञा आदेश जारी गरेका हुन् । सप्तरीको राजविराज, महोत्तरीको मटिहानी तथा पर्सा, सर्लाही र रौतहटका केही स्थानमा समेत प्रदर्शन भए पनि ठूलो अप्रिय घटना भने भएको छैन ।

जनकपुरधाममा सुरक्षा अवस्था संवेदनशील बनेपछि शुक्रबारका लागि विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरिएको छ । शैक्षिक संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बिदाको घोषणा गर्दै सम्बन्धित पक्षलाई तत्काल संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।

उता मधेश प्रदेश सरकारले पनि बढ्दो तनावलाई मध्यनजर गर्दै मन्त्रिपरिषद् बैठक र प्रदेश सुरक्षा परिषद्को बैठक बोलाएको थियो । बैठकले पछिल्ला दिनमा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाको समीक्षा गर्दै सुरक्षा संयन्त्रसँग समन्वय बढाउने निर्णय गरेको जनाएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारले सम्भावित सुरक्षा चुनौती समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रदेश सरकारले सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा सर्वसाधारणलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्नलाई सहयोग गर्न आग्रह गरेको छ । साथै, सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत अपुष्ट, भ्रामक तथा हिंसा भड्काउन सक्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न पनि अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा नाराबाजी र प्रदर्शनबीच गृहमन्त्रीले भेटे गोलीकाण्डका घाइते, विमानस्थलमै एक घण्टा सुरक्षा ब्रिफिङ
देवानगन्जपछि मधेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर किशोरको मृत्यु
उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु
तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल
डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×