
काठमाडौं । हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरूले सबै नागरिकलाई संयम रहन र सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन संयुक्त अपिल गरेका छन्। विश्व हिन्दु महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरे।
विभिन्न स्वार्थ समूहले धर्मका नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेको भन्दै धार्मिक अगुवाहरूले उत्तेजना वा घृणा फैलाउने गतिविधिमा नलाग्न आग्रह गरे। सबै धर्मको मूल भाव मानवकल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ।
पछिल्ला दिनमा सुनसरी र सिराहामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरूले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र नेपालको धार्मिक सहिष्णुता तथा आपसी सम्मान जोगाउनुपर्ने बताए। कुनै पनि विवाद वा घटनाका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न नहुनेमा आफूहरू स्पष्ट रहेको उनीहरूको भनाइ छ।

























