
विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले तराई/मधेशका विभिन्न जिल्लामा उत्पन्न सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई धैर्यता र संयमता अपनाउन अपिल गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सामाजिक सद्भाव, शान्ति र भाइचारा कायम राख्न समाजका सबै वर्गसँग आग्रह गरेका हुन्।
सुनसरीको देवानगन्जमा घटेको घटनाका साथै सिराहा, ससरी, धनुषा लगायतका क्षेत्रमा विकसित घटनाक्रमप्रति दुःख व्यक्त गर्दै उनले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सभामुख विष्टले हाम्रो समाज सदियौँदेखि विभिन्न भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी भाइचारा, सहिष्णुता र अभेद्य एकतामा अडिएको उल्लेख गरेका छन्। कुनै पनि किसिमको हिंसा, तनाव र अविश्वासले कसैको हित नगर्ने भन्दै यसले सामाजिक सद्भावलाई कमजोर बनाउने र विकासको गतिलाई अवरुद्ध पार्ने उनले बताएका छन्।
कुनै पनि समस्या, असहमति वा असमझदारीको समाधान केवल शान्तिपूर्ण संवाद, परस्पर सम्मान र कानूनको पालनाबाट मात्र सम्भव हुने उनको भनाइ छ। उत्तेजना र आवेगले समस्यालाई झन् जटिल बनाउने भएकाले सम्पूर्ण नेपाली, राजनीतिक दल, धर्मगुरु, नागरिक समाज, बुद्धिजीवी तथा युवा जेन्जी वर्गलाई शान्ति कायम राख्न उनले आह्वान गरेका छन्।
यसैगरी, मृतकसम्मका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेहरूको निःशुल्क औषधोपचार गर्ने सरकारको निर्णय अविलम्ब कार्यान्वयन गर्न पनि सभामुख विष्टले सरकारसमक्ष अनुरोध गरेका छन्।


























