
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा मृत्यु भएका दुई जना युवाको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । परिवारले शुक्रबार साँझ शव बुझेर अन्त्येष्टिका लागि लगेका छन् ।
कप्तानगन्जमा गत आइतबार राति दुई पक्षबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो । त्यस्तै, देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको हो।
दुवै शव न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । सरकार र मृतक पक्षबीच बिहीबार राति सहमति भएपछि शुक्रबार शवको पोस्टमार्टम कोशी अस्पतालमा भएको हो । पोस्टमार्टम सम्पन्न भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारको जिम्मा लगाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगन्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच औपचारिक सहमति भएको थियो । सहमतिपत्रमा सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ ।
सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् । सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन् ।

प्रहरीका अनुसार कप्तानगन्ज गोलीकाण्डमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना उपचाररत छन् । घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
गोलीकाण्डपछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए । हिंसात्मक अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
बुधबारदेखि सुनसरीको अवस्था केही सामान्य बन्दै गए पनि घटनाको प्रभाव मधेश प्रदेशसम्म पुग्यो । सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक किशोरको मृत्यु भएको थियो ।


























