गणेश यादव प्रकरण : परिवारसँग सरकारको ७ बुँदे सहमति, सहिद घोषणाको प्रक्रिया अघि बढ्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०६:१३

सिराहा । सिराहाको औरही गाउँपालिका–२ मोतिपुरमा साउन १४ गते बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ । सहमतिसँगै सरकारले यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ ।

गृहमन्त्री सुधन गुरुङ र मृतकका पिता रामवृक्ष यादवबीच शुक्रबार राति सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार नेपाल सरकारले गणेश यादवको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

यस्तै, घटनाको छानबिनका लागि गठन गरिएको समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू शीघ्र कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ । मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने व्यवस्था पनि गरिने भएको छ ।

स्थानीय सरकारसँगको समन्वयमा औरहीमा यादवको सम्झनामा स्मृति पार्क तथा सालिक निर्माणका लागि आवश्यक पहल गरिने सहमतिमा समेटिएको छ । यसबाहेक मृतककी बहिनीको निःशुल्क शिक्षाको व्यवस्था मिलाइने तथा परिवारका सदस्यलाई सरकारी अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउन गृह मन्त्रालय सहमत भएको छ । सहमतिअनुसार गणेश यादवको अन्त्येष्टि शनिबार बिहान १० बजे गरिने तय भएको छ ।

यस्तो छ सहमति

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.