कप्तानगन्ज गोलीकाण्ड : घटनास्थलमै दाहसंस्कार (फोटो फिचर)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०९:३१

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको घटनास्थलमै दाहसंस्कार गरिएको छ ।

उनीहरूलाई गोली लागेको घटनास्थलमै हिन्दु परम्पराअनुसार शुक्रबार राति दुवै जनाको अन्त्येष्टि गरिएको हो । स्थानीय र आफन्तको विशेष आग्रहका कारण कप्तानगन्जको रामचोकस्थित घटनास्थलमै दाहसंस्कार गर्नुपर्ने परिस्थिति बनेको परिवारले जनाएको छ ।

Advertisement

सशस्त्रको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो । पोस्टमार्टम गरेर दुवै जनाको शव परिवारलाई जिम्मा लगाइएपछि विराटनगरबाट कप्तानगन्जसम्म शवयात्रा निकालिएको थियो । त्यसपछि शव केही समयका लागि आआफ्नो घरमा राखी स्थानीय, आफन्त, नातेदार तथा परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए ।

देवानगन्ज–४ का वडाध्यक्ष सुशीलकुमार मेहताका अनुसार शवयात्रामा सयौं स्थानीयको सहभागिता रहेको थियो । ‘श्रद्धाञ्जली र अन्तिम बिदाइका क्रममा अधिकांश सहभागी भावविह्वल बनेका थिए,’ उनले भने, ‘परिवारका सदस्य र आफन्त डाँको छाडेर रोइरहे ।’ उनका अनुसार दुवै शवको दाहसंस्कार भइरहँदा घटनास्थलमा सन्नाटा छाएको थियो । उनीहरूको मृत्युपछि गाउँ नै शोकमग्न बनेको मेहता बताउँछन् ।

उनका अनुसार सामान्यतया हिन्दु परम्पराअनुसार नदी, खोला वा पानीको स्रोत नजिक दाहसंस्कार गर्ने चलन भए पनि स्थानीय, आफन्त र मृतकका परिवारको मागअनुसार घटनास्थलमै अन्त्येष्टि गरिएको हो । ‘दुवै जनालाई जहाँ गोली लागेको थियो, त्यही घटनास्थलमा अन्त्येष्टि गरिएको छ । राति करिब ११ः३० बजेतिर दाहसंस्कार सम्पन्न भयो,’ मेहताले भने ।

वडाध्यक्ष मेहताले दुवै मृतकको सम्झनामा गोली लागेको घटनास्थलमै स्मृति पार्क निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । मृतकका परिवार र नेपाल सरकारबीच भएको सहमतिअनुसार स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ । स्थानीय र परिवारको माग पनि घटनास्थलमै स्मृति पार्क निर्माण हुनुपर्ने भएकाले त्यसअनुसार प्रक्रिया अघि बढाइने मेहताले बताए ।

इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर प्रकाश पराजुलीले शवयात्रा र दाहसंस्कार शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । सम्पूर्ण कार्यक्रमका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको र दुवै जनाको अन्त्येष्टि गोली लागेको घटनास्थलमै सम्पन्न भएको उनले बताए । हाल गाउँको अवस्था सामान्य रहेको जानकारी उनले दिए ।

मृतकका परिवार र नेपाल सरकारबीच सहमति भएपछि आफन्त शव उठाउन तयार भएका थिए । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको छलफलपछि शुक्रबार बिहान औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

दुई समुदायबीचको विवाद हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले गोली चलाएको थियो । सोही क्रममा गोली लागेर ओमप्रकाश मेहताको घटनालगत्तै मृत्यु भएको थियो भने जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

सरकारसँग भएको सहमतिअनुसार दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ । साथै, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ । सम्झौतामा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनको सुझाव तथा सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने तथा स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ ।

सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् । सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङको हस्ताक्षर छ ।

सहमतिपछि विराटनगरस्थित न्युरो अस्पतालमा रहेका दुवै शवलाई कोशी अस्पतालमा लगेर पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि शुक्रबार साँझ शव परिवारलाई जिम्मा लगाइएको हो ।

प्रहरीका अनुसार कप्तानगन्ज गोलीकाण्डमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार भइरहेको छ । घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए । हिंसात्मक अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश तत्काललाई हटाइएको छ । तर, कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.