सामाजिक सद्भाव कायम राख्न प्रबुद्ध नागरिकको अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १०:४४

काठमाडौं । सुनसरीको देवानगन्जबाट सुरु भई देशका विभिन्न भागमा फैलिन थालेको साम्प्रदायिक दङ्गा र त्यसले निम्त्याएको मानवीय क्षतिप्रति देशका प्रतिष्ठित प्रबुद्ध नागरिकहरूले गम्भीर चिन्ता र दुःख व्यक्त गरे।

संयुक्त अपिल जारी गर्दै उनीहरूले दङ्गाका क्रममा ज्यान गुमाउने सुनसरीका ओमप्रकाश मेहता र गणेश मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा पीडित परिवारजनमा समवेदना प्रकट गरे।

Advertisement

दङ्गाका कारण नेपालको वर्षौँ पुरानो सामाजिक सद्भाव र सहिष्णुतामा गम्भीर खलल पुगेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ। प्रबुद्ध नागरिकहरूले अहिले तराई-मधेसका विभिन्न क्षेत्रमा देखिइरहेको असहज परिस्थितिले देशको शान्ति र स्थायित्वमा नै खतरा बढाएको भन्दै चिन्ता व्यक्त गरे। विशेषगरी सर्वसाधारणलाई भड्काउने, हिंसा फैलाउने र एक-अर्काको धार्मिक आस्थामा चोट पुर्‍याउने खाले भ्रामक एवं उत्तेजक सामग्रीहरू सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको भन्दै उनीहरूले त्यस्ता गतिविधि तत्काल रोक्न माग गरे।

यस विषम परिस्थितिमा सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिँदै प्रबुद्ध नागरिकहरूले घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कडा कारबाही गर्न एक अधिकारसम्पन्न ‘न्यायिक छानबिन आयोग’ तत्काल गठन गर्न सरकारसँग आग्रह गरे। उनीहरूका अनुसार संघीय सरकारले सुरु गरेको सर्वपक्षीय छलफल र शान्ति स्थापनाका प्रयासलाई प्रदेश तथा स्थानीय तहसम्मै प्रभावकारी रूपमा विस्तार गर्नु आजको आवश्यकता हो। साथै, नागरिकको जीउधनको सुरक्षाका लागि स्थानीय स्तरमा ‘रेपिड रेस्पोन्स मेकानिजम’ जस्ता संयन्त्रहरू बनाएर सुरक्षा निकायको मनोबल उच्च राख्दै कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्ने उनीहरूको सुझाव छ।

धर्मनिरपेक्षताको वास्तविक अर्थ आफ्नो आस्थाको पालना गर्दा अरूको आस्थामा अवरोध नपुर्‍याई साम्प्रदायिक सह-अस्तित्वको अभ्यास गर्नु रहेको उल्लेख गर्दै अपिलमा नेपाली समाजको यो विशिष्ट पहिचानलाई जोगाउन सबैमा आग्रह गरिएको छ।

साझा अपिलमा नीलाम्बर आचार्य, सूर्यप्रसाद श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, महेन्द्रबहादुर पाण्डे, पीताम्बर शर्मा, सुशील प्याकुरेल, चैतन्य मिश्र, दुर्गेश मान सिंह, टङ्क कार्की, महेशकुमार मास्के, लीलामणि पौड्याल र विष्णुपुकार श्रेष्ठ जस्ता लब्धप्रतिष्ठित व्यक्तित्वहरूले हस्ताक्षर गरे। उनीहरूले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, सञ्चारकर्मी र आम नागरिकलाई हिंसा र द्वन्द्व बढाउने कार्यमा नलाग्न र मुलुकमा सामाजिक एकता कायम राख्न हार्दिक अपिल समेत गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.