अर्थ र समाजदेखि गाउँले जीवनसम्मको अध्ययन सकेर फर्कियो विदेशी टोली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ११:१३

विराटनगर । विभिन्न देशका प्राध्यापक तथा विद्यार्थीहरूले विराटनगर र कोशी प्रदेशको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षको अध्ययन पूरा गरेको छ । अर्थ र समाजदेखि गाउँले जीवनसम्मको अध्ययन सकेर विदेशी फर्किएको छ ।

लिबर्टी इन्टरनेसनलको ‘फिनिक्स फ्रम द एसेज’ शैक्षिक कार्यक्रम अन्तर्गत विकल्प एन अल्टरनेटिभसँगको सहकार्यमा विराटनगर आएको आठ सदस्यीय टोलीले पाँच दिनसम्म विभिन्न सरकारी निकाय, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, उद्योग व्यवसाय र स्थानीय समुदायसँग अन्तरक्रिया गर्दै अध्ययन भ्रमण सम्पन्न गरेको हो । अध्ययनका क्रममा टोलीले कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभा सचिव सुदर्शन खड्का, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला तथा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीसँग भेटघाट र छलफल गरेको थियो ।

Advertisement

त्यसैगरी उद्योग संगठन मोरङका पदाधिकारी, होटल एसोसिएसन, जनता नमुना माध्यमिक विद्यालय, लिलिपुट स्कुल, कोशी अस्पताल, विराट टिचिङ अस्पताल, विराटेश्वर वृद्धाश्रम तथा विकल्प एन अल्टरनेटिभको टोलीसँग पनि उनीहरूले अन्तरक्रिया गरेका थिए । भ्रमणको विराटनगर संयोजन गरेका विकल्प एन अल्टरनेटिभका कार्यकारी निर्देशक वसन्त अधिकारीका अनुसार टोलीले स्थानीय हाटबजार, ग्रामीण परिवेश, समुदायको जीवनशैली तथा सामाजिक अभ्यासका बारमो प्रत्यक्ष अध्ययन गरेको थियो ।

यसबाट सहभागीहरूले कोशी प्रदेशको विकास, स्थानीय शासन, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र सामाजिक संरचनाबारे व्यवहारिक अनुभव हासिल गरेका छन् । शैक्षिक भ्रमणमा अमेरिका, पोर्चुगल, दक्षिण कोरिया र कोलम्बियासहित विभिन्न देशका प्राध्यापक तथा विद्यार्थी सहभागी थिए । टोलीले अध्ययनबाट प्राप्त अनुभवलाई आफ्नो शैक्षिक अनुसन्धान र अन्तर्राष्ट्रिय सिकाइ आदानप्रदानमा उपयोग गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.