
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साढे ४ करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक बस्ने ३४ वर्षका सन्तोष प्रधान रहेका छन्।
ललितपुर जिल्ला अदालतले २०८२ साल माघ १३ गते बैंकिङ कसुर मुद्दामा प्रधानलाई दुई दिन कैद र १० लाख रुपैयाँ बिगोको पाँच प्रतिशतले हुने ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई काठमाडौं महानगरपालिका-९ गौशालाबाट प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका प्रधानलाई फैसला कार्यान्वयनका लागि २०८३ साउन १५ गते ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ।
प्रधानविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा गरी कुल चार करोड ५२ लाख ८४ हजार ९३६ रुपैयाँ बराबरको बिगो रकमका अन्य बैंकिङ कसुर मुद्दाहरू पनि दर्ता रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर ललितपुरमा १० लाख, प्रहरी वृत्त बौद्ध काठमाडौँमा नौ लाख, प्रहरी वृत्त नयाँ बानेश्वरमा पाँच लाख, जिल्ला प्रहरी परिसर भक्तपुरमा नौ लाख, प्रहरी वृत्त जनसेवा काठमाडौँमा एक करोड २५ लाख ४२ हजार ९३६ रुपैयाँ र दुई करोड ९४ लाख ४२ हजार रुपैयाँ बराबरको बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दाहरू दर्ता रहेका छन्।



















