
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (आइतबार) पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ । अहिले सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी क्षेत्रका धेरै स्थानमा तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

























