
काठमाडौं । नेपाल बार एसोसिएसनले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते राति भएको घटनाको स्थलगत अध्ययन तथा तथ्य संकलन सुरु गरेको छ ।
घटनाको यथार्थ अवस्था, कारण र प्रभावका बारेमा निष्पक्ष अध्ययन गरी सुझावसहितको प्रतिवेदन एक साताभित्र बारलाई बुझाइएको छ । त्यसपछि नेपाल बार एसोसिएसनमार्फत सरकारलाई बुझाइने छ ।
बार एसोसिएसनले केन्द्रीय उपाध्यक्ष पदमप्रसाद लिम्बूको संयोजकत्वमा ११ सदस्यीय नागरिकस्तरीय अध्ययन समिति गठन गरेर काम सुरु गरेको हो । समितिमा पत्रकार महासंघ, कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन् ।
समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेका अनुसार आइतबारबाट सुरु भएको स्थलगत अध्ययनका क्रममा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटघाट गरिएको छ । त्यस्तै, देवानगन्ज गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिसँग छलफल गरिएको उनले बताए । ‘घटनास्थलको स्थलगत अनुगमन गर्दै घटनाका प्रत्यक्षदर्शीसँग समेत जानकारी लिइएको छ,’ काफ्लेले भने ।
समितिले घटनासँग सम्बन्धित दुवै पक्षसँग भेटघाट गर्नुका साथै मदरसाको पनि अनुगमन गरेको छ । अध्ययनका क्रममा अझै घाइतेहरूको अवस्था बुझ्ने, तत्कालीन सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय प्रशासनका अधिकारीसँग छलफल गर्ने कार्य बाँकी रहेको उनले बताए ।
काफ्लेका अनुसार अध्ययन सम्पन्न भएपछि घटनाको वास्तविक अवस्था, त्यसका कारण र प्रभावसम्बन्धी निष्कर्ष तथा आवश्यक सुझाव समेटिएको प्रतिवेदन एक साताभित्र नेपाल बार एसोसिएसनलाई बुझाइनेछ । बारले उक्त प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ ।
नेपाल बारले देवानगन्ज घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र निष्पक्ष अध्ययन आवश्यक ठानेर नागरिकस्तरीय अध्ययन समिति गठन गरेको हो । समितिलाई घटनास्थलमा पुगेर पीडित, स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग छलफल गरी तथ्य संकलन गर्ने र निष्कर्षसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
संयोजक लिम्बूले अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक सुझावसहितको प्रतिवेदन तयार गरिने र त्यसले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कप्तानगन्जमा साउन १० गते राति दुई समूहबीचको हिंसात्मक झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएकामध्ये हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । आठ जना घाइते हाल उपचाररत छन् ।

























