
झापा। झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन्।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार २०६७ असार ३ गतेदेखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उनकाे भनाइ छ।
कार्यालयका अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो। उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २०८२/८३ मा भने ६ जनाले ज्यान गुमाएका छन्। मृतकका परिवारलाई जनही १० लाखका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए।
अभिलेखअनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार, २०८२ र २०८३ को हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। २०६७ देखि हालसम्म १० जना गैरनेपालीको हात्तीको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।
मानिस मात्र होइन, मानव-हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादवले बताए। कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन्। सबैभन्दा बढी २०८२ सालमा मात्रै ६ वटा हात्ती मारिएका उनले जानकारी दिए।
प्रमुख यादवका अनुसार वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव-हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण हुन्। उनले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी र उद्धारका गतिविधि सञ्चालन भइरहेको बताए।

























