
काठमाडौं । अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने उद्देश्यले मानव अधिकार तथा शान्ति समाजले सोमबार माइतीघरमा प्रदर्शन गरेको छ।
प्रदर्शनमार्फत समाजले वर्तमान परिस्थितिमा बढ्दो असहिष्णुता र द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न सबै पक्षलाई आह्वान गरेको हो।
कार्यक्रममा सहभागीहरूले ‘तोड्न होइन, जोड्न योगदान गरौँ’, ‘हाम्रो जीवनधारा स् सद्भाव र भाइचारा’ तथा ‘हिंसा र घृणालाई खारेज गरौँ’ जस्ता सन्देशयुक्त प्लेकार्ड बोकेर शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए। उनीहरूले सामाजिक सद्भाव कायम राख्दै विविधतामा एकता सुदृढ गर्नुपर्नेमा जोड दिए।
मानव अधिकार तथा शान्ति समाजले समाजमा फैलिँदै गएको द्वेष, घृणा र हिंसात्मक प्रवृत्तिलाई रोक्न सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै दीर्घकालीन शान्ति स्थापनाका लागि आपसी समझदारी र सहकार्य अपरिहार्य रहेको जनाएको छ।

























