गृहमन्त्री नआएसम्म शव नलैजाने अडानमा शिक्षण अस्पतालमा बसिरहेका मृतक मेहताका आफन्तसुनसरी । कप्तानगन्ज घटनामा गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएपछि सुनसरीको देवानगन्ज क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
साउन १० गते आइतबार राति देवानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक बनेपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। सोही झडपमा बायाँ तिघ्रामा गोली लागी गम्भीर घाइते भएका देवानगन्ज गाउँपालिका-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको आज मंगलबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
विराटनगरमा शल्यक्रियापछि अवस्था जटिल बनेपछि उनलाई गत शुक्रबार एयर एम्बुलेन्समार्फत लगिएको थियो। उपचारका क्रममा बायाँ खुट्टा काटिएका मेहताको आइसीयूमा निधन भएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए।
रवीन्द्रको मृत्युसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति र देवानगन्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको थियो। घटनाका अन्य सात जना घाइतेको काठमाडौं र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, मृतकका आक्रोशित आफन्तहरूले गृहमन्त्री नआएसम्म शव नबुझ्ने अडान राख्दै शिक्षण अस्पताल परिसरमा धर्ना दिएका छन्। गोली चलाउने प्रहरीलाई निलम्बन नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको र दोषीलाई कारबाही नगरी घटना सामसुम पार्न खोजिएको आरोप आफन्तले लगाएका छन्।
काठमाडौंमा शव नबुझ्ने अडान र गाउँमा उत्पन्न तनावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले देवानगन्ज क्षेत्रमा सम्भावित अशान्ति र अवाञ्छित गतिविधि हुन नदिन बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरेको छ। सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न बजार तथा आसपासका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

























