अपरिचितको पछि लागेर सुन नल्याउन विमानस्थल सुरक्षा कार्यालयको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १७:०२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट फर्किने नेपाली नागरिकहरूलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परेर सुन तथा बहुमूल्य वस्तु नल्याउन अनुरोध गरेको छ।

दुबई, कतार लगायतका मुलुकबाट फर्किने नेपालीलाई तस्करहरूले आर्थिक प्रलोभन देखाएर सुनका सिक्री तथा बहुमूल्य सामान पठाउने गरेको पाइएको छ। खरिद बिल समेत दिएर पठाएका त्यस्ता सामान विमानस्थलमा जाँचका क्रममा समातिँदा सर्वसाधारणले अवैध ओसारपसारको अभियोगमा कानुनी कारबाही भोग्नुपरेको प्रहरीले जनाएको छ।

Advertisement

सुरक्षा कार्यालयले सूचना जारी गर्दै अरूको सामान, झोला वा प्याकेटको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन सचेत गराएको छ। बिल वा कागजात हुँदैमा कानुनी जिम्मेवारीबाट बचिन्छ भन्ने भ्रममा नपर्न र सानो लापरबाहीले ठुलो समस्या निम्त्याउन सक्नेतर्फ ध्यान दिन प्रहरीले आग्रह गरेको छ।

अवैध सुन ओसारपसारबाट टाढा रहन आग्रह गर्दै विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि वा प्रलोभन देखिएमा तुरुन्त सुरक्षा निकायमा जानकारी गराउन कार्यालयले भनेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.