
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला समितिको टोलीले मेची राजमार्गको दीर्घकालीन वैकल्पिक मार्ग निर्माणसहितका पूर्वाधार योजनामा बजेट व्यवस्थापन गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराएको छ।
रास्वपा इलामका प्रतिनिधिहरूले मन्त्री लम्साललाई भेटेर १२ किलोमिटर सिमलगोलाई–तिलकेनी सडक निर्माण, जोगमाई खोलामा पक्की पुल निर्माण र उक्त सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश गर्न माग गरेका हुन्। साथै विभिन्न स्थानीय तहका अत्यावश्यक सडक, पुल र खानेपानी योजनाहरूका लागि तत्काल बजेट विनियोजन गरी कार्यान्वयनमा लैजान आग्रह गरिएको छ।
भेटका क्रममा मन्त्री लम्सालले देखिएका समस्या समाधानका लागि चाँडै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको रास्वपा इलामका सभापति दिनेश महतले जानकारी दिए।
अविरल वर्षाका कारण मेची राजमार्गसहितका वैकल्पिक सडकहरूमा बाढी पहिरोले अवरोध पुर्याउँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ। सडक अवरुद्ध हुँदा उपभोग्य सामग्रीको ढुवानी सहज हुन नसकी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ।

























