फाइल फाेटाेकाठमाडौं। देशका विभिन्न ५२ जिल्लामा २४ घण्टाको अवधिमा भएका ६६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। घटनामा अन्य २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १० देखि साउन १९ गते बिहान १० बजेसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तुको आक्रमणलगायत घटना भएका हुन्।
बाढीका कारण दुई जनाको ज्यान जानुका साथै एक जना बेपत्ता भएका हुन्। बाढीमा परी तीन जना घाइते भएका छन्। यस्तै सर्पदंशबाट ११, आगलागीबाट दुई, पहिरोबाट एक तथा वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ। विपद्मा परेका १०२ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि ३३० जना प्रहरी परिचालन भएका थिए।
वैशाख १ देखि साउन १९ गतेसम्म देशका विभिन्न भागमा चार हजार १५९ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी कुल १९८ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र एक हजार २४६ जना घाइते भएका छन्।
यस अवधिमा पाँच हजार २७० परिवार प्रभावित भएका छन्। तथ्याङ्क अनुसार सबैभन्दा बढी एक हजार ३४ वटा आगलागी, ७४५ वटा सर्पदंश र ७२० वटा पहिरोका घटना दर्ता भएका छन्।
























