घाटामा रहेका र बन्द संस्थान सुधारको बाटोमा फर्किए: प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार ११:०८

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गरेका छन्। नियत सफा र टिमवर्क इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव हुने भन्दै उनले सामाजिक सञ्जालमार्फत ५ वटा संस्थानका प्रगति विवरण सार्वजनिक गरेका हुन्।

नयाँ सरकार गठन भएयता रुग्ण राष्ट्रिय उद्योगहरूलाई पुनर्जीवित बनाउन लिइएका पहलकदमीबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको बताएका छन्। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड पाएपछि गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको र चालु आर्थिक वर्षमा ३० करोडको बिक्री लक्ष्य राखेको उनले उल्लेख गरेका छन्।

Advertisement

सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने योजना अनुसार यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्यमध्ये २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको उनले जनाएका छन्।

त्यस्तै, बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। तान मर्मतपछि परीक्षण रूपमा केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको र परीक्षण सकिएपछि सरकारले नै उद्योग सञ्चालन गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

नेपाल वायुसेवा निगमको आम्दानी गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै उनले यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी भएको बताएका छन्। यस अवधिमा जहाजको सिट अकुपेन्सी ८६ प्रतिशत पुगेको र कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको विवरण उनले प्रस्तुत गरेका छन्।

दुग्ध विकास संस्थानले किसानको रोकिएको ७२ करोड रुपैयाँ बक्यौताको भुक्तानी चक्रलाई ८ महिनाबाट घटाएर २-३ महिनामा झारेको प्रधानमन्त्रीले बताएका छन्। किसानलाई प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको, दैनिक बिक्री ३५ प्रतिशतले बढेर दैनिक राजस्व ९० लाख रुपैयाँ पुगेको र कर्मचारीको घ्यू-दूध सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको उनले उल्लेख गरेका छन्। संस्थानले खाडीमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यातको तयारी गरिरहेको जानकारी पनि उनले दिएका छन्।

यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिबाट नयाँ सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको प्रधानमन्त्री शाहले जनाएका छन्। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो वर्षको तुलनामा चार गुणा बढी भएको उनले बताएका छन्। हाल १०५ प्रकारका औषधि उत्पादन भइरहेकामा चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ।

देशप्रतिको इमानदारिता र समर्पण कायम रहे रुग्ण उद्योगहरूमा नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले आत्मनिर्भरताको यो यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।

तपाइको प्रतिक्रिया
सरकारको कार्यशैली, पार्टीको अवस्था र अदालतको आदेशबारे थापाको कडा टिप्पणी
ओलीले निर्देशन दिएकै दिन मुख्यमन्त्री कार्कीले पद छाड्ने दाबी
मृतकसँग मनमुटाव वा नोटमा नाम उल्लेख हुँदैमा आत्महत्या दुरुत्साहन नठहरिने सर्वोच्चको व्याख्या
डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ
पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए
ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता अपनाउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.