विराटनगरमा उपभोक्ता अदालत स्थापना गर्न सरोकारवालाको जोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १३:२०

विराटनगर। उपभोक्ता हित संरक्षण र उपभोक्ता अदालतको आवश्यकताबारे विराटनगरमा सरोकारवालाबीच छलफल भएको छ। शनिबार आयोजित ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू, उपभोक्ता अदालतको आवश्यकता र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा यसबारे व्यापक छलफल गरिएको हो।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा भएको अन्तरक्रियामा कानुन व्यवसायी, उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता थियो।

Advertisement

छलफलका क्रममा उपभोक्ता हित संरक्षण र बजारमा हुने कालोबजारी, मिसावट तथा ठगी नियन्त्रणका लागि उपभोक्ता अदालतको आवश्यकता अपरिहार्य रहेको सहभागीहरूले बताए। काठमाडौं उपत्यकामा उपभोक्ता अदालत गठन भइसकेको सन्दर्भमा विराटनगर जस्तो मुख्य व्यापारिक हब र कोशी प्रदेशका उपभोक्तालाई छिटो र सुलभ न्याय दिलाउन यहाँ पनि तत्काल यस्तो अदालत स्थापना हुनुपर्नेमा उनीहरूले जोड दिए।

नियमित अदालतहरूमा मुद्दाको चाप बढी हुने भएकाले उपभोक्तासम्बन्धी विवादहरू वर्षौंसम्म अल्झिने गरेको भन्दै उपभोक्ता अदालतले यस्ता मुद्दालाई प्राथमिकता दिएर छिटो छिनोफानो गर्ने सहभागीहरूको भनाइ थियो।

उपभोक्ताले सामान वा सेवा खरिद गर्दा ठगिएको महसुस गरेमा बिलबिजकसहित सिधै अदालतमा उजुरी गरी क्षतिपूर्ति दाबी गर्न पाउन सक्ने भएकाले यो आम नागरिकका लागि महत्त्वपूर्ण हुने बताइएको छ। साथै खाद्यान्नमा मिसावट, म्याद नाघेका सामानको बिक्री, अस्वाभाविक मूल्यवृद्धि र गुणस्तरहीन सेवा दिने व्यवसायीलाई तत्काल कानुनी दायरामा ल्याउन पनि यसले सहज हुने सरोकारवालाहरूले उल्लेख गरे।

कार्यक्रममा मोरङ जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझा प्रमुख आतिथिका रुपमा सहभागी थिए । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँ लगायत अन्य सरोकारवाला संस्थाका प्रतिनिधिले उपभोक्ता अदालतको महत्व र प्रभावबारे चर्चा गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.