आदिवासी जनजातिको पहिचान र सशक्तीकरणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार ०९:१९
आदिवासी जनजातिको पहिचान र सशक्तीकरणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै, उनले सदियौँदेखि आदिवासी जनजाति समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, कला र जीवनशैलीको संरक्षण गर्दै नेपालको सामाजिक पहिचानलाई समृद्ध बनाउन पुर्‍याएको योगदानको प्रशंसा गरे ।

Advertisement

‘विविधता र मौलिकताले कोशी प्रदेशलाई विशिष्ट र समृद्ध बनाएको छ,’ सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय, समावेशिता र सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध छ ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना कालदेखि नै सबै जातजाति, भाषा र धर्मको संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रममार्फत निरन्तर काम गरिरहेको बताए । उनले प्रदेशको विविधतालाई ‘शक्ति र सम्पत्ति’ का रूपमा स्वीकार गर्दै सबै समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्नु साझा दायित्व भएको उल्लेख गरे ।

आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले यस दिवसले विविधताबीच एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले आदिवासी जनजाति समुदायको भाषा र संस्कृतिको संरक्षणसँगै उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार थप प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.