‘संविधानका उपलब्धि कमजोर बनाउने गतिविधि अस्वीकार्य’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार ११:५९

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको बताएका छन्। विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरू मास्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको स्मरण गराउँदै नेता आङ्देम्बेले यी उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त नभएको बताए। आदिवासी जनजातिसहित सबै समुदायका नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरू रक्षा गर्नु सबैको दायित्व भएको धारणा उनले राखे।

Advertisement

संविधानमा रहेका कमीकमजोरी र समस्याहरूलाई संशोधन तथा परिमार्जनमार्फत सुधार गर्न सकिने भए पनि मूल व्यवस्था र उपलब्धिलाई कमजोर बनाउने खेल हुन नहुनेमा उनले जोड दिए। आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकारलाई व्यवहारमै सुनिश्चित गर्नुपर्ने बताउँदै उनले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत हुनुपर्ने धारणा व्यक्त गरे।

विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका सङ्घर्ष, त्याग तथा बलिदानलाई स्मरण गराउने उल्लेख गर्दै उनले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्प पूरा गर्न सबैलाई आह्वान गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.