
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन्।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताए। केही व्यक्तिको गल्तीका कारण समग्र प्रहरी संगठनले बदनामी भोग्नु परेको उल्लेख गर्दै उनले नियम उल्लङ्घन गर्नेसँग आर्थिक प्रलोभनमा पर्ने जस्ता गतिविधि अब अस्वीकार्य हुने स्पष्ट पारे।
ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा-सुविधासहित अधिकारसम्पन्न बनाउन समिति सकारात्मक रहेको जनाउँदै उनले नागरिकप्रतिको उत्तरदायित्व र कर्तव्य निर्वाहमा कुनै सम्झौता नहुने बताए।
राष्ट्रिय यातायात नीति, २०८३ मा सुधारका धेरै विषय समेटिएकाले अब त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए। ट्राफिक नियम उल्लङ्घनमा ठूलो रकम जरिवाना गर्ने विषयमा छलफल भए पनि हाल त्यस्तो व्यवस्था लागू नभएको र जरिवाना निर्धारण गर्नुअघि सर्वसाधारण तथा सरोकारवालासँग छलफल गरिने जानकारी उनले दिए।
कारबाहीसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि सँगै लैजानुपर्ने बताउँदै उनले देशभर ट्राफिक नियमसम्बन्धी सचेतना फैलाउन आग्रह गरे। नियम थाहा नभएको बहानामा छुट नपाइने भए पनि प्रविधिको विकास र सचेतना वृद्धिमा राज्यले ध्यान दिनुपर्ने धारणा उनले राखे।

























