साउनको अन्तिम सोमबार शिवालयहरूमा भक्तजनको घुइँचो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार ११:२०

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ। काठमाडौं स्थित पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि ठूलो सङ्ख्यामा श्रद्धालुहरू भेला भएर पूजा आराधना गरिरहेका छन्।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्छन्। साउनका अन्य सोमबार व्रत बस्न नपाएकाहरूले पनि अन्तिम सोमबार पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। सोमबार भगवान् शिवको प्रिय वार मानिने भएकाले श्रद्धालुहरूले बिहानैदेखि लाइन बसेर पूजापाठ तथा दान गरिरहेका छन्।

Advertisement

बोलबम तीर्थालुहरूले काठमाडौं को सुन्दरीजलबाट ल्याएको शुद्ध जल पशुपतिनाथमा चढाएर पूजाअर्चना गरेका छन्। पशुपतिबाहेक भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, अर्जुनधारा, पिण्डेश्वर, बाशुकीनाथ, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर र कलानेश्वर तथा दाङको धारपानीलगायत शिवालयहरूमा पनि भक्तजनको ठूलो उपस्थिति छ।

यसैगरी चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाममा पनि बिहानैदेखि बोलबम मेला भर्ने र पूजा गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.