एकै दिन विपद्का ४१ घटना, २० जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १३:०७

काठमाडौं । २४ घण्टाको अवधिमा देशभर विपद्का ४१ वटा घटना भएका छन्। साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ती घटना भएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनामा परि २० जना घाइते भएका छन्। उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई तथा चट्याङ र वन्यजन्तु आक्रमणका एक–एक घटना भएका छन्। सर्पदंशका घटनामा मात्रै २० जना घाइते भएका छन्।

Advertisement

विपद्का कारण करिब ३८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। घटनापछि सहायताका निम्ति १७३ जना प्रहरी परिचालन गरिएको थियो। विपद्का कारण चार स्थानमा सडक अवरुद्ध हुनुका साथै एउटा चौपायाको क्षति भएको छ।

यसैबिच गत वैशाख १ देखि साउन २४ गतेसम्म देशभर ४ हजार ४५२ वटा विपद्का घटना भइसकेका छन्। ती घटनामा परि २०५ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता र १ हजार ३४७ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार यस अवधिमा ५ हजार ४९२ परिवार प्रभावित भएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.