
सुनसरी । सुनसरीको देवानगन्ज घटनाका मृतकहरूलाई तत्काल शहीद घोषणा गर्न र पीडित परिवारसँग भएको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय प्रतिनिधिहरूले माग गरेका छन् । सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो माग गरेका हुन्।
सम्झौता कार्यान्वयनमा सरकारले गरेको ढिलाइले पीडितको पीडा र जनआक्रोश बढाउँदै गम्भीर दुर्घटना निम्त्याउन सक्ने चेतावनी उनीहरूले दिएका छन्। नेपाल सरकारले पीडित परिवारसँग गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने र सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्ने स्पष्ट प्रतिबद्धता जनाएको थियो। सम्झौता भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट निर्णय हुन नसक्नु सरकारको चरम गैरजिम्मेवारीपन र पीडितप्रतिको संवेदनहीनता भएको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौंमा उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको एक हप्ता बितिसक्दा पनि शव अन्त्येष्टि हुन नसक्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको जनाइएको छ। यसबाट मृतकका आफन्तले सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने अधिकारसमेत कुण्ठित भएको भन्दै नेताहरूले सरकारलाई पीडितको धैर्यको थप परीक्षा नलिन आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा देवानगञ्ज घटनाका मृतकहरू ओमप्रकाश मेहता, जयप्रकाश मेहता, सिरहा गोलबजार घटनाका मृतक गणेश यादव तथा उपचारका क्रममा निधन भएका रविन्द्र मेहतालाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। सम्झौता बमोजिमको क्षतिपूर्ति, राहत र रोजगारी अविलम्ब उपलब्ध गराउन आग्रह गर्दै सरकारले तत्काल न्यायपूर्ण समाधान नखोजे शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
उक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अंसारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र देवानगन्ज गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हरिनन्दन मेहताले हस्ताक्षर गरेका छन्।

























