बहुराष्ट्रिय कम्पनीहरूलाई थप लगानी भित्र्याउन अर्थमन्त्रीको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १०:५०

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन्। मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गरेका हुन्।

नेपालमा अझ ठूलो लगानी गर्न, भइरहेका उद्योग विस्तार गर्न र नयाँ उत्पादन तथा प्रविधिमा प्रवेश गर्न आग्रह गर्दै अर्थमन्त्री वाग्लेले सरकार लगानीकर्ताको साथमा उभिने प्रतिबद्धता जनाए।

Advertisement

अर्थमन्त्रीको आग्रहपछि छलफलमा धारणा राख्दै कम्पनीका प्रतिनिधिहरूले छिट्टै नेपालमा २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको बताए। नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै जलविद्युत्, पेन्ट, होटेल र पेय पदार्थलगायतका क्षेत्रमा लगानी विस्तारको प्रक्रिया अघि बढाइएको जानकारी उनीहरूले दिए। अनुकूल वातावरण बनेमा लगानी विस्तार गर्न तयार रहेको र यसले रोजगारी तथा अर्थतन्त्र दुवैको वृद्धिमा भूमिका खेल्ने उनीहरूको भनाइ थियो।

नयाँ सरकारले ल्याएको बजेटले विदेशी लगानीकर्ताको मनोबल बढाएको भन्दै उनीहरूले केही नीतिगत र व्यावहारिक पाटोमा थप सहजीकरण आवश्यक रहेको औँल्याए। नयाँ सरकार गठनपछि उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, कर तथा भन्सार कार्यालयका प्रशासनिक कार्यमा सुधार देखिएको भए पनि अझै थप उदार नीति चाहिने उनीहरूले बताए।

प्यारेन्ट कम्पनीबाट पुँजी ल्याउन सहजीकरण गर्नुपर्ने, आर्थिक तथा फौजदारी अपराधको स्पष्ट व्याख्या हुनुपर्ने, आयकर ऐनको दफा ५७ संशोधन र श्रमिक कानुन परिमार्जन गरेर लगानीमैत्री वातावरण बनाउनुपर्ने माग उनीहरूले राखे। यस्तै, कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, स्वदेशी कच्चा पदार्थ प्राप्तिमा सहजीकरण, जग्गाको हदबन्दी फुकुवा, स्थानीय तहपिच्छेको कर निर्धारण नियन्त्रण, दोहोरो करको झन्झट हटाउने र प्रतिफल फिर्ताको प्रक्रिया सहज बनाउन उनीहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस्, पावर कन्स्ट्रक्सन, गोर्खा लाहारी, हुवासिन सिमेन्ट नारायणी, न्युहोप एग्रो बिजनेस, नेपाल वेलहोप एग्रीटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्टस् जस्ता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो।

तपाइको प्रतिक्रिया
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णालीमा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.