भेडेटारको ‘स्काइवाक’ सिसामा हिँड्दै हिमाल नियाल्ने गन्तव्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार ०८:०६
भेडेटारको ‘स्काइवाक’ सिसामा हिँड्दै हिमाल नियाल्ने गन्तव्य

विराटनगर । आकाशमा हिँडेको अनुभूति, गोडा मुनि पारदर्शी सिसा, अनि अगाडि कञ्चनजंघा र मकालु जस्ता हिमशृंख्लाको मनमोहक दृश्य ! धनकुटाको पर्यटकीय केन्द्र भेडेटारमा सञ्चालित ‘स्काइवाक’ यति बेला साहसिक पर्यटनका सौखिनहरूका लागि नयाँ ‘हब’ बनेको छ ।

वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सनले सञ्चालनमा ल्याएको यो परियोजनाले छोटो समयमै लोभलाग्दो सफलता पाएको छ । दुई वर्षको अवधिमा यहाँ ३ लाख ९ हजारभन्दा बढी पर्यटक झुम्मिएका छन् । पहिलो वर्ष एक लाख ७८ हजार र दोस्रो वर्ष एक लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन् । जसमध्ये करिब ३५ प्रतिशत पर्यटक छिमेकी मुलुक भारतका छन्, जसले भेडेटारको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत फैलाउन मद्दत पुर्‍याएको छ ।

Advertisement

समुद्री सतहबाट १ हजार ४०० मिटर उचाइमा रहेको यो स्काइवाकबाट प्रकृतिको त्रिवेणी देख्न पाइन्छ । एकातिर सप्तकोशीको सुसेली र तराईका विशाल फाँटहरू देखिन्छन् भने अर्कोतिर सगरमाथा, मकालु र कञ्चनजंघा जस्ता विश्वका अग्ला हिमालहरू आँखै अगाडि मुस्कुराएझैँ लाग्छन् । विशेषगरी सूर्योदय र सूर्यास्तको समयमा यहाँको दृश्य कुनै चलचित्रको दृश्यभन्दा कम देखिँदैन ।

स्काइवाक मात्र होइन, यहाँ पुग्ने पर्यटकले ‘फ्री–फल जम्प’ र ‘स्वीङ’ (पिङ) मार्फत थप साहसिक अनुभव बटुलिरहेका छन् । आगामी दिनमा यहाँ स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि विशेष उद्यान थप्ने योजना रहेको प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले बताए ।

स्काइवाकका कारण भेडेटारको आर्थिक गतिविधिमा नयाँ ऊर्जा थपिएको छ । स–साना चिया पसलदेखि ठुला होटेलसम्म पर्यटकको चाप बढेको छ । होटेल एसोसिएसन अफ भेडे टारका पूर्वअध्यक्ष लीलाराज लावती भन्छन्, ‘हिमाल, पहाड र तराईको संगमका रूपमा रहेको भेडेटारलाई स्काइवाकले देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरिदिएको छ ।’

पर्यटकीय आकर्षण बढे पनि परियोजना सञ्चालनमा केही नीतिगत चुनौतीहरू देखिएका छन् । गत वर्ष मात्रै करिब ९ करोड रुपैयाँको कारोबार गरेको यस परियोजनाले ४५ लाख रोयल्टी र मनोरञ्जन कर बापत ठुलो रकम राज्यलाई बुझाएको छ । सञ्चालकहरूका अनुसार यस्ता निजी–साझेदारी (पिपिपी) परियोजनालाई टिकाउन सरकारले कर नीतिमा केही व्यावहारिक सुधार र लगानीमैत्री वातावरण बनाउन आवश्यक छ ।

यदि नीतिगत सुधार हुने हो भने भेडेटारको यो स्काइवाक जस्तै अन्य परियोजनाले नेपालको पर्यटनलाई विश्व बजारमा अझै बलियोसँग चिनाउने निश्चित छ ।

तपाइको प्रतिक्रिया
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णालीमा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.