पुष्पलाल स्मृति ब्याडमिन्टन: क्षितिज, विष्णु र प्रफुल्ल सेमिफाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १७:१५
पुष्पलाल स्मृति ब्याडमिन्टन: क्षितिज, विष्णु र प्रफुल्ल सेमिफाइनलमा

ललितपुर । ललितपुरको ग्वार्कोस्थित यल स्पोर्ट्स एकेडेमीमा जारी ‘चौधौँ पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता’ मा क्षितिज खनाल, विष्णु कटुवाल र प्रफुल्ल महर्जनले पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

समूह ‘ए’ बाट एपीएफका क्षितिज खनालले नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ अन्तिम चारमा स्थान बनाएका हुन् । यसअघि क्षितिजले शीर्ष बरियताका प्रिन्स दाहाललाई समेत हराएका थिए ।

Advertisement

यस्तै, समूह ‘बी’ बाट पिस फिटनेस क्लबका विष्णु कटुवालले दीपक बोहरालाई र नेपाल आर्मीका प्रफुल्ल महर्जनले देवराज रानालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे ।

महिलातर्फ समूह ‘बी’ बाट एपीएफकी रिहाना शेरचन र पुलिसकी निता लम्सालले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । समूह ‘ए’ मा भने रसिला महर्जन र शेस्ना सिपाली बलियो अवस्थामा छन्, जसको निर्णय शुक्रबारको खेलले गर्ने छ ।

प्रतियोगिताको यु–१५ र यु–१९ विधामा पनि प्रतिस्पर्धा तीव्र बनेको छ । यु–१५ पुरुषतर्फ रिजन मगर, सुहम कार्की र उदय चन्द लगायतले अन्तिम १६ मा स्थान बनाएका छन् । यु–१९ महिलातर्फ अन्जिला राई, सुषमा भुजेल र प्रेन्शा श्रेष्ठ तथा पुरुषतर्फ कविर केसी, प्रतीक विष्ट र सौर्य महर्जनले अन्तिम १६ को यात्रा तय गरेका छन् ।

राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको यो प्रतियोगितामा देशभरका शीर्ष खेलाडीहरूको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.