
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै एक अपिल जारी गरेका छन्। अपिलमार्फत देउवाले आफू कुनै पद वा शक्तिको प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले अपिलमा लेखेका छन्।
निवर्तमान सभापति देउवाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाएका छन्। सरकारले जनताको मतलाई कदर गर्न नसकेको र राजनीतिक आग्रह एवं पूर्वाग्रहमा मात्र केन्द्रित भएको उनको तर्क छ। ‘ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ देउवाले उल्लेख गरेका छन्।
देउवाले युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीडालाई काङ्ग्रेसले नजिकबाट बुझेको बताएका छन्। बदलिँदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई कदर गर्ने उनको भनाइ छ। विगतका त्याग र बलिदानलाई नजरअन्दाज नगर्न आग्रह गर्दै देउवाले नयाँ र पुराना पुस्ताबीचको सहकार्यमा जोड दिएका छन्।
२०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताए। पार्टीका कार्यकर्ताहरूमा केही निराशा देखिएको स्वीकार गर्दै देउवाले उनीहरूको मनोबल बढाउन आफू लागिपर्ने उल्लेख गरेका छन्। काङ्ग्रेसको ऐतिहासिक दायित्व अझै नसकिएको र पार्टीलाई थप सुदृढ बनाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए।
संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने उनको अडान छ। लोकतन्त्र, संविधान र नागरिक अधिकारका पक्षमा काङ्ग्रेसले कहिल्यै सम्झौता नगर्ने उनले दोहोर्याएका छन्। आफूलाई कुनै व्यक्तिगत लाभको पद नचाहिएको स्पष्ट पार्दै देउवाले जीवनको बाँकी समय राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने बताए। “नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको” भन्दै उनले नम्रताका साथ सेवामा तत्पर रहने प्रतिबद्धता जनाएका छन्।


























