
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि विराटनगर किंग्सले आफ्नो मुख्य प्रायोजकसँग सम्झौता गरेको छ । टोलीले स्वदेशी उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ सँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो ।
विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ का तर्फबाट प्रमुख बजार व्यवस्थापक सोनिया राणा र विराटनगर किंग्सका सञ्चालक सुयश प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै विराटनगर किंग्सका खेलाडीले लगाउने जर्सीको अगाडिको भागमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ को लोगो रहने बताइएको छ ।
सम्झौता एक वर्षका लागि भए पनि प्रायोजन रकम भने दुवै पक्षले खुलाएका छैनन् । सम्झौता कार्यक्रममा बोल्दै विराटनगर किंग्सका अर्का सञ्चालक पारस लुनियाले क्रिकेटमार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ सँग सहकार्य गरेको बताए । स्थानीय र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ, जुन यस पटक ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ सँगको सहकार्यले पूरा गरेको छ, उनले भने, ‘स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुद उत्कृष्ट माध्यम हो ।’
विराटनगर किंग्सका टोली निर्देशक दीपेन्द्र चौधरीले यस पटक टोलीलाई अत्यन्त बलियो र सन्तुलित बनाउन लागेको जानकारी दिए । उनले भने, ‘आगामी संस्करणका लागि हामीले ४ देखि ५ जनासम्म विदेशी खेलाडी टोलीमा समावेश गर्ने योजना बनाएका छौँ । अघिल्लो संस्करणमा खेलेका केही पुराना खेलाडीहरूसँग पनि छलफल भइरहेको छ । टोलीको जर्सी र खेलाडीहरूको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने छौँ ।’
‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ यस अघि जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग प्रायोजकको सम्झौता गरी सकेको छ ।
यसअघिको मुख्य प्रायोजक एभरेस्ट बैंक पनि सहयोगीका रूपमा टोलीको साथमै रहने व्यवस्थापनले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको आगामी संस्करण कात्तिक ९ देखि मंसिर १५ गतेसम्म आयोजना गर्ने घोषणा गरिसकेको छ ।
यस पटक एनपीएलमा विराटनगर किंग्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

























