
काठमाडौं। रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा गत बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। योसँगै उक्त पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने एक जना बालक अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बेपत्ता भएका थवाङ–५ कोटलबारा निवासी ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो। फेला परेको शव मृतकका भतिजा सुशील पुनले सनाखत गरेका छन्।
पहिरोमा परी बेपत्ता भएका थवाङ–५ निवासी ९ वर्षीय अशिम पुनमगरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



















