
काठमाडौं । १४ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता २०८३ अन्तर्गत शीर्ष ८ वरीयताको पुरुष एकलतर्फ एपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा क्षितिजले पिस फिटनेस क्लबका विष्णु कटुवाललाई १८–२१, २१–७ र २२–२० को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
त्यस्तै, अर्को सेमिफाइनलमा नेपाल नम्बर १ खेलाडी प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जनलाई २२–२४, २१–१४ र २१–१२ को सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरे । लिग चरणको पहिलो खेलमा क्षितिजसँग पराजित भएका प्रिन्सलाई फाइनलमा त्यसको बदला लिने अवसर जुरेको छ ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला शीर्ष ८ एकलतर्फ नेपाल नम्बर १ आर्मीकी रसिला महर्जन फाइनलमा प्रवेश गरेकी छन् । उनले सेमिफाइनलमा नेपाल पुलिस क्लबकी निता लम्साललाई २१–१३ र २१–१३ को सोझो सेटमा पराजित गरिन् ।
महिलातर्फ नै पुलिसकी जेसना श्रेष्ठले एपीएफकी रिहाना शेरचनलाई २१–१६ र २१–१८ ले हराउँदै फाइनलमा रसिलासँगको भेट पक्का गरेकी छन् । दुवै विधाका फाइनल खेलहरू अब उपाधिका लागि हुनेछन् ।

























