
झापा । झापा जिल्लामा मनसुनको आगमनसँगै ज्यान लिने रोग ‘जापानिज इन्सेफ्लाइटिस) (जेई) ले भयावह रूप लिन थालेको छ । जिल्लामा हालसम्म सङ्क्रमित भएका १० जनामध्ये ५ जनाको मृत्यु भइसकेको छ, जसले यो रोगको मृत्युदर ५० प्रतिशत देखाएको छ ।
पछिल्लो पटक मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लाभर सङ्क्रमितको सङ्ख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । सङ्क्रमणको जोखिम कतिसम्म छ भन्ने कुरा एक ७ महिने बालकमा समेत जेई पुष्टि भएको तथ्यले स्पष्ट पार्छ ।
जिल्लाका विभिन्न पालिकामा यो रोग फैलिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार मेचीनगरमा सबैभन्दा बढी ४ जना सङ्क्रमित भेटिएका छन् । यस्तै, बिर्तामोडमा २, हाल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधारामा १–१ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये हाल २ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ३ जना निको भएर घर फर्किएका छन् ।
जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने यो रोग वर्षायाममा जम्ने पानी र फोहोरका कारण तीव्र गतिमा फैलिन्छ। स्वास्थ्य कार्यालयले घर वरपर पानी जम्न नदिन, सुत्ने बेला झुलको प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई अपिल गरेको छ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन स्वास्थ्य कार्यालयले अनुराेध गरेकाे छ ।

























