
विराटनगर । विराटनगरमा जारी ‘प्रथम अन्तर विद्यालय सुपर ८ क्रिकसल’ प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज (आइतबार) हुँदैछ । कोशी प्रदेशमै पहिलो पटक भित्रिएको यस नयाँ खेल विधाको प्रतियोगिता विराटनगर–३ स्थित विराट स्पोर्ट्स जोनले आयोजना गरेको हो ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा क्वाटर फाइनलसम्मका खेलहरू सम्पन्न भएसँगै चार विद्यालयले सेमिफाइनलमा स्थान बनाएका छन् । आज हुने पहिलो सेमिफाइनल खेल बाल कल्याण विद्या मन्दिर (बीकेभीएम) र ग्रिनल्यान्ड सेकेन्डरी स्कुलबीच हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा कोशी विद्या मन्दिर (केभीएम) र राइजिङ इंग्लिस बोर्डिङ स्कुल भिड्ने आयोजकले जनाएको छ ।
सेमिफाइनलका विजेता टोलीले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा मोरङका २८ निजी र ४ सामुदायिक गरी कुल ३२ विद्यालयको सहभागिता रहेको थियो । आयोजकका अनुसार उपाधि सँगसँगै यस प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गर्ने टोलीलाई प्रदान गरिने ‘फेयर प्ले अवार्ड’ लाई विशेष महत्त्व दिइएको छ ।
प्रदेशमै पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति नयाँ उत्साह जगाएको विराट स्पोर्ट्स जोनको दाबी छ ।

























