
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा आफूलाई कडा सुरक्षा जाँच गरिएको भन्दै सरकार र सुरक्षा निकायप्रति कडा आपत्ति जनाएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उनले विमानस्थलमा आफूलाई ‘अपराधी वा तस्कर’ जस्तो व्यवहार गरिएको बताए । अध्यक्ष ओलीले काठमाडौं र भद्रपुर दुवै विमानस्थलमा मेटल डिटेक्टरबाट पटक–पटक जाँच गरिनुका साथै शरीरसमेत खानतलासी गरिएको भन्दै असन्तुष्टि पोखे । ‘मेटल डिटेक्टर लगाएको छ, यो गर्या छ, उ गर्या छ । के निकाल्न खोज्या ? के बरामद गर्न खोज्या ?’ उनले प्रश्न गरे ।
सुरक्षा जाँचको शैलीलाई ‘तमासा’ को संज्ञा दिँदै उनले भने, ‘एउटा स्थानमा मेटल डिटेक्टरबाट जाँच गरिसकेपछि पुनः अर्को ढोकामा समेत त्यस्तै जाँच गर्ने र त्यसपछि शरीरसमेत छामछुम गरियो । म न गँजडी, न जँड्याहा, न ड्रगिस्ट । के खोज्या हो ?’
सुन तस्करीका घटनातर्फ संकेत गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘न मसँग १९० तोला सुन छ, न कतै लुकाएको केही छ ।’
अध्यक्ष ओलीले विमानस्थलमा आफूलाई कडा जाँच गरिए पनि सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए । ‘ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइ छ । एयरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लगाउँछ,’ उनले आक्रोश व्यक्त गरे ।
एकपटक जाँच गरिसकेपछि पुनः पटक पटक जाँच गरिनु सुरक्षाको नाममा दुःख दिने नियत भएको उनको तर्क थियो ।

























