
विराटनगर । विराटनगरमा सम्पन्न भएको ‘प्रथम अन्तरविद्यालय क्रिकसल क्रिकेट प्रतियोगिता’ को उपाधि ग्रिनल्याण्ड सेकेन्डरी स्कुलले जितेको छ ।
विराट स्पोर्ट्स जोनको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा ग्रिनल्याण्डले राइजिङ नेपाल इंग्लिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिलो ब्याटिङ थालेको राइजिङ नेपालले निर्धारित ८ ओभरको खेलमा पूरै ओभर खेलेर ३ विकेट गुमाउँदै ७१ रनको योगफल तयार पारेको थियो । ७२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको ग्रिनल्याण्डले आक्रमक ब्याटिङ गर्दै ४ ओभर ४ बलमा कुनै पनि विकेट नगुमाई ७२ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । ग्रिनल्याण्डका कृष्णराज यादव म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको महत्त्वपूर्ण पुरस्कार ‘फेयर प्ले अवार्ड’ हेरिटेज इन्टरनेशनल स्कुलले प्राप्त गरेको छ । व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट बलर ग्रिनल्यान्डका अमिर मण्डल, उत्कृष्ट ब्याट्सम्यान डेनिस राजा, हेरिटेजका आयान कट्टेल उदयमान खेलाडी घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट ग्रिनल्यान्डका कृष्णराज यादव भए ।
प्रतियोगितामा ४ सामुदायिक र २८ निजी गरी ३२ विद्यालयको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, वडा नम्बर ३ का वडाध्यक्ष वासु बस्नेत, स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंलगायतले खेलाडीहरूलाई पुरस्कार प्रदान गरे ।

























