
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकीकरणपछि पहिलो पटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ । दुई पार्टीबीचको एकतालाई संगठनात्मक स्वरूप दिन नयाँ कार्यसमिति र पदाधिकारी चयन गरिएको हो ।
पार्टीले जारी गरेको विशेष परिपत्रअनुसार एकतापछि बनेको जसपा नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । यस्तै, पार्टीको सहअध्यक्षमा शरतसिंह भण्डारी र वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन् ।
नयाँ संरचनाअनुसार पार्टीमा सात जना उपाध्यक्षहरू चयन गरिएको छ । उपाध्यक्ष बन्नेहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रियता सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव छन् ।
एकीकरणपछि गठित यो नयाँ केन्द्रीय समितिमा संरक्षक, अध्यक्ष, सहअध्यक्ष र वरिष्ठ नेतासहित कुल ३३ सदस्यीय पदाधिकारी रहेका छन् ।
दुई ठुला मधेस केन्द्रित दलहरूबीचको एकतासँगै प्रशासनिक र संगठनात्मक अन्योल अन्त्य गर्न यो नयाँ समिति गठन गरिएको पार्टीले जनाएको छ । यो नयाँ नेतृत्वले पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने, संगठन विस्तार गर्ने र आगामी निर्वाचन केन्द्रित गतिविधिहरूलाई अघि बढाउने जिम्मेवारी पाएको छ ।
लामो समयको संवाद र सहमतिपछि भएको यो एकता र त्यसपछिको कार्यसमिति चयनले मधेसको राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गर्ने अपेक्षा गरिएको छ ।

























