देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन ३१, आइतबार १६:२५
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औँ महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

साउन २९ देखि ३१ गतेसम्म चलेको भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्दै देउवाको नेतृत्वलाई स्वीकार गर्ने नीति लिएको हो । भेलाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्ने र महाधिवेशनसम्म पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने तय गरेको छ ।

भेलाले २०३३ सालमा महामानव बीपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा पनि सान्दर्भिक ठहर गरेको छ । मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति कांग्रेसले लिएको नेता दीपक कुइँकेलले बताए ।

बैठकका निर्णयहरू सुनाउँदै कुइँकेलले भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अङ्गको रूपमा स्वीकार गरेको बताए । हिन्दु, बौद्ध, किराँत र प्राकृत लगायतका धर्मको संरक्षण गर्ने दायित्व बोध गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पार्टी प्रतिबद्ध रहने प्रस्ताव पारित गरिएको छ । संविधानको सम्बन्धमा जनअपेक्षा सम्बोधन गर्न आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार नै सम्बन्धित पक्षहरूसँग संवाद गरी निकास खोजिने जनाइएको छ ।

भेलामा प्राप्त विभिन्न सुझाव र प्रस्तावहरूलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउनको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ । उक्त समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य रहेका छन् भने मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेलले सहयोगीका रूपमा कार्य गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.