
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विगत तीन दिनमा आफूले जीवनभर नभोगेको निन्दा र आलोचना खेप्नुपरेको बताएका छन् । पार्टीको संस्थापन इतर पक्षको भेलामा आफ्नै विरुद्ध भएका चर्का आलोचना र प्रहारप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ती आलोचनाहरूबारे विस्तृत धारणा सार्वजनिक गर्न सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने घोषणासमेत गरे ।
इतर समूहको तीन दिने भेलामा सहभागी अधिकांश नेताहरूले गगन थापाको कार्यशैली र भूमिकामाथि प्रश्न उठाउँदै चर्को आलोचना गरेपछि थापाले भने, ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले अहिले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्ने छु । मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ । कसले कति निन्दा गरेको छ, त्यो सबै मैले हेरेको छु ।’
आलोचनाका बीच थापाले राजनीतिमा सफलताको परिभाषा बदल्नुपर्नेमा जोड दिए । उनले पद र सत्ता पाउनुलाई मात्रै सफलता मान्न नसकिने तर्क गरे । ‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,’ थापाले लेखक धर्म गौतमको उदाहरण दिँदै भने, ‘उहाँको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्ने धेरै नेताहरूसँग नहुन सक्छ ।’
पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल र इमानदार कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्ने थापाको भनाइ थियो ।

























