
काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गर्दै भदौ १ गते सोमबारदेखि नियमित प्रक्रियाअनुसार नै ग्यास बिक्री वितरण हुने जनाएको छ। ग्यास उद्योगहरूले नियुक्त गरेका विक्रेताहरूमार्फत ग्यास बिक्रीको व्यवस्था मिलाइएको भन्दै निगमले उपभोक्तालाई पायक पर्ने स्थानबाट ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास बिक्रीलाई पारदर्शी र प्रभावकारी बनाउन उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई बुझाउनुपर्नेछ। यस्तै, विक्रेता वा वितरकले ग्यास खरिद गर्ने उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण तयार पारी उद्योगलाई दिनुपर्नेछ भने उद्योगले सोही दिन उक्त विवरण निगममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
निगमले ग्यास वितरण गर्दा अति आवश्यक भएका घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न निर्देशनसमेत दिएको छ। ग्यास ढुवानी र वितरणको सुरक्षा सहजीकरणका लागि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमको संयुक्त टोलीले बजार अनुगमन गर्नेछ।
नजिकैको विक्रेताबाट ग्यास पाउन नसकेका वा तत्काल अति आवश्यक परेका उपभोक्ताका लागि निगमले ‘क्वीक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गरेको छ। उपभोक्ताले मोबाइल नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गरी सहयोग लिन सक्ने निगमले जनाएको छ।



















