
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाका उपसभामुखको कार्यशैली र भूमिकाप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले उपसभामुखले पदीय मर्यादा र संविधानको भावनाअनुरूप आचरण नगरेको टिप्पणी गरेका हुन्।
महासचिव पोखरेलले सभामुख र उपसभामुख निर्वाचित भइसकेपछि तटस्थ भूमिका निर्वाह गर्नु उनीहरूको संवैधानिक कर्तव्य भएको बताए। सभामुखको भूमिकाका सन्दर्भमा उठेका प्रश्नहरूमा सुधारको संकेत देखिए पनि उपसभामुखको हकमा भने समस्या देखिएको उनको भनाइ छ।
राष्ट्रिय श्रम संस्कृति पार्टीबाट समानुपातिक कोटामा निर्वाचित उपसभामुख रुबी कुमारीबारे पोखरेलले भने, ‘उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार हो।’
सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको उद्देश्य नै सन्तुलन र निष्पक्षता कायम गर्नु रहेको उल्लेख गर्दै उनले उपसभामुखमा अनुभवको कमीले गर्दा पदीय मर्यादामा ध्यान पुग्न नसकेको हुनसक्ने बताए। यस विषयमा सुधार आउनु जरुरी रहेको उनले उल्लेख गरे।
संसदीय भूमिकामा निष्पक्षताको परिभाषा स्पष्ट पार्दै महासचिव पोखरेलले निष्पक्षताको अर्थ समग्रतामा आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णतः पलायन हुनु नभएको बताएका छन्। उनले उपसभामुखलाई आफ्नो भूमिकामा सुधार ल्याउन र संवैधानिक मर्मलाई आत्मसाथ गर्न सुझाव समेत दिएका छन्।

























