बीपी राजमार्ग फराकिलो र व्यवस्थित बनाउने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ११:१५

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ। योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा ५.५ मिटर छ।

चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर छ। सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।

Advertisement

डिपिआरअनुसार सडक विस्तारमा ३ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान छ। सडक कालोपत्र गर्न प्रतिकिलोमिटर १८ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए। विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ।

२०८१ असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ।

क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीतर्फको एक सडकखण्डका लागि १ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो। १६० किलोमिटर लामो उक्त राजमार्ग निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.