इलाममा शिक्षकलाई भलिबल प्रशिक्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार २०:२३
इलाममा शिक्षकलाई भलिबल प्रशिक्षण

विराटनगर । इलाममा विद्यालय तहका शिक्षकहरूका लागि जिल्ला स्तरीय भलिबल प्रशिक्षण आयोजना गरिने भएको छ । जिल्ला भलिबल संघ इलामको आयोजनामा यही भदौ १० देखि १५ गतेसम्म सदरमुकामस्थित ठूलो टुँडिखेलमा यो प्रशिक्षण सञ्चालन हुन लागेको हो ।

वार्षिक रूपमा सञ्चालन हुने ‘राष्ट्रपति रनिङ सिल्ड’ प्रतियोगितालाई लक्षित गर्दै भलिबल खेलको प्राविधिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । आयोजकले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रशिक्षणमा जिल्लाका १० वटै स्थानीय तहका ७० जना शिक्षकहरू सहभागी हुने जानकारी दिएको छ ।

Advertisement

जिल्ला भलिबल संघका अध्यक्ष प्रवीन गुरुङका अनुसार यो प्रशिक्षण कोशी प्रदेशकै पहिलो शिक्षक लक्षित भलिबल तालिम हो । ‘स्थानीय तहले निश्चित संख्यामा स्कुलहरूबाट छानेर शिक्षकहरूलाई प्रशिक्षणमा पठाउने छन्,’ अध्यक्ष गुरुङले भने, ‘शिक्षकहरूलाई नै दक्ष बनाउँदा त्यसको प्रत्यक्ष लाभ विद्यार्थीहरूले पाउनेछन् र वर्षौंसम्म दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने छ ।’

प्रशिक्षणको मोडालिटीबारे जानकारी दिँदै उनले बिहानको समयमा भलिबलको सैद्धान्तिक पक्षमा छलफल हुने र दिउँसोको समयमा मैदानमै प्रयोगात्मक अभ्यास गराइने बताए । प्रशिक्षणमा ७ जना दक्ष प्रशिक्षकहरूले सहजीकरण गर्नेछन् ।

आयोजक समितिका सदस्य गणेश खतिवडाले प्रशिक्षणमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाट समेत १० जना शिक्षक सहभागी हुने बताए ।  ‘इलाममा लामो समयदेखि उल्लेख्य भलिबल प्रतियोगिताहरू हुन सकेका छैनन् । पहाडी भेगमा मैदान बनाउन र खेल आयोजना गर्न सजिलो हुने भएकाले भलिबल यहाँको भूगोलका लागि निकै उपयुक्त खेल हो,’ खतिवडाले भने, ‘यसले जिल्लामा भलिबलको क्रेज पुनः फर्काउन मद्दत गर्नेछ।’

६ दिनसम्म चल्ने यस प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हाल आयोजक समिति आर्थिक व्यवस्थापन र तयारीमा जुटिरहेको संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.