
इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिंदा मासिने अवस्थामा पुगेको छ। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको छ।
कन्याम चिया बगानका कर्मचारी होमप्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समयक्रममा फुटेर टुक्राटुक्रा भएको थियो। फुटेका टुक्राहरू कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको छ।
‘वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो। पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएका रहेछन्,’ रिजालले भने, ‘पछि कम्पनीकै तर्फबाट टुक्राहरू ल्याएर जोडजाड गरेर राखिएको छ।’
शिलालेखलाई संरक्षण गर्न कम्पनीका केही मजदुर परिचालन गरी सिमेन्टलगायत सामग्री प्रयोग गरेर टालटुल गरी खडा गरिएको भए पनि त्यस वरपर घेराबेरा भने नगरिएको रिजालले बताए। उनका अनुसार शिलालेखलाई व्यवस्थित रूपमा संरक्षण गर्न कम्पाउन्ड वा घेराबेरा आवश्यक छ।
‘कम्पनीले त आफ्नोतर्फबाट टालटुल गरेर राखेको छ। तर त्यहाँ घेराबेरा छैन। अब यसलाई संरक्षण गरेर राख्नका लागि घेराबेरा गरिनुपर्छ,’ रिजालले भने।
उनले ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र चिया बगान कम्पनी दुवैको समन्वय आवश्यक रहेको बताए। कन्यामको पर्यटन प्रवर्द्धनसँगै यहाँ रहेका ऐतिहासिक संरचना तथा शिलालेखको संरक्षणमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।
यसअघि स्थानीय टेकराज गिरीले कन्याम चिया बगान सुरु हुँदाका समयमा तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यले विसं २०२८ सालमा वृक्षरोपण गरेको पहिलो चियाको बोट ‘मदर बुश’ समेत काटेर मासिएको बताएका थिए। उनले शिलालेख फुटाएर वा मेटाएर कन्यामको इतिहास मेटाउन नसकिने भन्दै ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
कन्यामलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार गरिरहँदा यसको प्राकृतिक सुन्दरता मात्र नभई राजपरिवार, चिया बगान र पुराना संरचनासँग जोडिएको ऐतिहासिक पक्षको संरक्षण गर्नुपर्ने स्थानीयको माग छ।



















