
एजेन्सी । बङ्गलादेशमा ३५ वर्षपछि पहिलोपटक बहुउम्मेदवारबिच प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै छ। देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद् भवन (जातीय सन्सद) मा सांसदहरूले मतदान गर्ने कार्यक्रम छ।
सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र बङ्गलादेश जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्नेल ओली अहमदबिच प्रतिस्पर्धा हुँदै छ।
निर्वाचनमा संसद्का ३४९ सांसद मतदानका लागि योग्य छन्। मतदान दिउँसो २ बजेदेखि साँझा ५ बजेसम्म संसद्को मुख्य कक्षमा हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र परिणाम घोषणा गरिनेछ।
बङ्गलादेशको ३५० सदस्यीय संसद्मा ३०० प्रत्यक्ष र महिलाका लागि ५० आरक्षित सिट छन्। चट्टोग्राम–४ निर्वाचन क्षेत्र रिक्त रहेकाले हाल ३४९ सांसदले मात्र मतदान गर्न पाउनेछन्। संसद्मा सत्तारूढ बीएनपीको स्पष्ट बहुमत रहेकाले मिर्जा फखरुल राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो छ।
बङ्गलादेशमा यसअघि ८ अक्टोबर १९९१ मा बहुउम्मेदवारबिच राष्ट्रपतीय निर्वाचन भएको थियो। त्यसयताका सबै राष्ट्रपतीय निर्वाचनहरूमा संसद्को बहुमतप्राप्त दलले समर्थन गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित हुँदै आएका थिए।

























