
एजेन्सी । फिलिपिन्सको दक्षिणी सहर जाम्बोआङ्गामा मंगलबार भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको छ। मृतकमध्ये गोली चलाउने विद्यार्थी पनि रहेको अधिकारीहरूले बताएका छन्। घटनामा थप कोही घाइते भएको जानकारी आएको छैन र अवस्था नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार निजी रूपमा सञ्चालित एटेनियो डे जाम्बोआङ्गा विश्वविद्यालयसँग सम्बन्धित विद्यालयमा कक्षा ९ का एक विद्यार्थीले पेस्तोल र राइफल लिएर कक्षाकोठाभित्र गोली चलाएका थिए। उनले आफूभन्दा एक कक्षा माथिका पुरुष विद्यार्थीलाई गोली हानेर हत्या गरेपछि आफैँले पनि आत्महत्या गरे।
विश्वविद्यालयका अध्यक्ष अर्नाल्ड एन्डालले विद्यालयमा अब सक्रिय गोलीबारीको अवस्था नरहेको र थप मानवीय क्षति वा घाइतेको विवरण नआएको बताएका छन्। उनले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
फिलिपिन्समा विद्यालय गोलीकाण्ड दुर्लभ मानिन्छ। देशमा बन्दुक राख्न कडा नियम, पृष्ठभूमि जाँच र मनोवैज्ञानिक मूल्याङ्कनजस्ता प्रावधान भए पनि अवैध हतियारको प्रयोग अझै चुनौतीका रूपमा रहेको छ।
यो घटना जुनमा टाक्लोबान सहरको एक सरकारी माध्यमिक विद्यालयमा भएको गोलीकाण्डको करिब दुई महिनापछि भएको हो। उक्त घटनामा दुई सहपाठीले गोली चलाउँदा कम्तीमा तीन विद्यार्थीको मृत्यु भएको र करिब २० जना घाइते भएका थिए।
त्यस्तै, फिलिपिन्सको पछिल्लो घटना थाइल्यान्डको राजधानी बैंककनजिक विद्यालयमा भएको गोलीकाण्डको १० दिन नपुग्दै भएको हो। उक्त घटनामा एक विद्यार्थीले विद्यालयमा गोली चलाएका थिए।

























