
एजेन्सी। रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा बिहीबार राति गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आक्रमणमा २३ जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस) का अनुसार आक्रमणमा आवासीय भवन तथा गोदामहरूलाई निशाना बनाइएको थियो। ध्वस्त भवनका भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि उद्धारकर्मीहरू परिचालित छन्। उद्धार टोलीले भग्नावशेषबाट एक जनालाई जीवितै निकालेको छ।
किभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणमा बाल अस्पतालसमेत क्षतिग्रस्त भएको छ भने आसपासका केही सवारीसाधनमा आगलागी भएको छ।
राजधानीको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सोलोमियान्स्की जिल्लास्थित औद्योगिक केन्द्रमा पनि क्षेप्यास्त्र प्रहार भएको किभका मेयर क्लित्स्कोले बताएका छन्।

























